गुञ्जियो ‘सारङ्गीमा देश’

Sep 20th, 2019

नारायण ढुङ्गाना

काठमाडौँ, ३ असोज (रासस)

नेपालमा प्रचलित सारङ्गी एक मुख्य तार बाजा हो । यसलाई बजाउन धनुको प्रयोग हुन्छ । सङ्गीतका स्वरलाई आलङ्कारिक रूपले प्रस्तुत गर्न सारङ्गीको प्रयोग गरिन्छ ।  

लोकप्रिय हुँदाहुँदै पनि लोप हुँदै गएको सारङ्गीकोे महत्व दर्शाउँदै हरेक गीत सङ्गीतमा प्रयोग बढाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संविधान दिवसको अवसरमा बिहीबार राति २० जना सारङ्गीवादक भेला पार्यो । कार्यक्रमको नाम थियो ‘सारङ्गीमा देश’ । कलाकारले झण्डै डेढ दर्जन मौलिक भाकामा धुन निकालेर सङ्गीत पारखीलाई भरपुर मनोरञ्जन दिलाए ।

प्रारम्भिक समयमा गन्धर्वहरुबाट प्रयुक्त र प्रवद्र्धित हुँदै आएको सारङ्गी समय प्रवाहसँगै जातीय दायराबाट बाहिर निस्किएर आम सङ्गीतप्रेमीमाझ लोकप्रिय छ । तर पनि आधुनिक सङ्गीतबीच सारङ्गीको अवस्था खुम्चिएकाले सङ्कटापन्न अवस्थामा पुगेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ९रायन० बताउनुहुन्छ । त्यसैले मुलुकलाई सारङ्गीको महत्व कति हुन्छ भनेर देखाउनु पनि कार्यक्रमको उद्देश्य हो । 

राष्ट्रिय नाचघरको प्रेक्षालयमा लस्करै बसेका एक हुल सारङ्गीवादकले नेपालका पुराना र मौलिक भाकालाई तार रेटेर मिठो धुनमा समेटे । कार्यक्रमको संयोजन प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक राईले गर्नुभएको थियो भने सारङ्गीको संयोजन भरत नेपालीले गर्नुभएको थियो । 

नेपाल सांस्कृतिक संस्थानसँगको सहकार्यमा प्रस्तुत गरिएको ‘सारङ्गीको देश’ कार्यक्रम एउटा अनुपम संयोग र ऐतिहासिक भएको कलापारखीले प्रतिक्रिया दिएका छन् । सङ्गीत पारखी सागर गौतमले एकै ठाउँमा २० जना सारङ्गीवादकबाट मौलिक भाकामा सारङ्गीको धुन सुन्न पाउनु अहोभाग्य भएको बताउनुभयो ।

कलाकारले कार्यक्रममा १७ वटा भाकामा सारङ्गी बजाएका थिए । सारङ्गीलाई बाँसुरी, सनई, ताल बाजा, टुङ्ना, मुर्चुङ्गा, पात, चरी बाजा र पियानोले साथ दिएको थियो । कोरसमा गायिकाहरुको साथ थियो । इन्द्रेणीको लालित्यको परिकल्पना गर्दै एक सारङ्गीवादक भरत नेपालीले तयार पार्नुभएको धुन ‘क्या राम्रो इन्द्रेणी’ कार्यक्रमका लागि नौलो र आकर्षक बनेको थियो । 

कलाकार भरत नेपालीले आफैँले बनाएको १२ तारे सारङ्गीको धुन सुनाउनुभएको थियो । उहाँले उक्त बाजालाई ‘भरत बाजा’ नाम दिएको बताउनुभयो । नेपाली मात्रै होइन विदेशी सारङ्गीवादकको समेत र्काक्रममा सहभागिता थियो । विदेशी पर्यटकसमेत सारङ्गीको स्वाद लिन प्रेक्षालयमा थिए । 

कलाकारले तार रेटेर मङ्गल धुनसँगै सोरठी, पालम भाका, असारे, मैथिली, कौडा, शिरसया, सङ्गीनी, वा माया वा, मालश्री धुन प्रस्तुत गरेका थिए । यस्तै धिमाल धुन, साकेला भाका, म्हेन्दोला माया भाका, थकाली र देउडामा निकालेको धुनमा सङ्गीत पारखीबाट राम्रो ‘हुटिङ’ पाएको थियो ।
  
‘सारङ्गीमा देश’ हेरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली जनताको भावनात्मक सम्बन्धलाई सारङ्गीको धुनले माथि उठाउन सहयोग पुर्याएको भन्दै प्रशंसा गर्नुभयो । विगतदेखि आजसम्म विभिन्न जाति र जनजातिले जन्मदेखि मृत्युसम्म बजाइने बाजाको गौरवपूर्ण इतिहास नेपालमा रहेको उहाँले उल्लेख गर्नुभयो । 

यसअघि असोज १ मा सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा देशका मौलिक भाकामा गीत र नृत्य प्रस्तुत गरेको थियो ।