• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Sep 20th, 2019

काठमाडौं, ३ असोज

नवलपरासी (पश्चिम)  र तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-१ तुल्सीनगर पालुस्थानस्थित सडकमा हाल अल्फाबेट नखुलेको ४११३ नम्बरको मोटरसाइकलले बिहीबार राति हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७० वर्षीया महिलालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ । फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तनहुँ, भानु नगरपालिका-६ नाबुरुमस्थित सडकमा ग.१ ख ४०८४ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका सोही नगरपालिका बस्ने २३ वर्षीय बिनोद थापाको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।