दशैँमा मालवाहक गाडी राति चलाउने सहमति

Sep 20th, 2019

धादिङ, ३ असोज (रासस)

दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबँेसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो । 

सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बाउनुभयो । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडक खण्ड १२ किलोमिटरलाई ग्यास बुलेट, लामा भारी सामान बोकेका गाडी र टिप्परलाई राति नौ बजेपछि मात्र खानीखोलाबाट काठमाडाँै जान दिने योजना बनाइएको छ । उक्त सडकमा एक हजारभन्दा बढी टिप्पर सञ्चालन हुँदै आएका छन् । जाम कम गराउन खानीखोलाबाट दिउँसोको समयमा टिप्परको प्रवेशमा रोक लगाइने भएको छ । 

बाटो साँघुरो भएकाले नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । ट्राफिक प्रहरी परिचालन गरी सडक खुला गरिने प्रजिअ तामाङले बाउनुभयो । उक्त क्षेत्रमा गत वर्ष मर्मत गरिएको सडक पूरै भत्किएको छ ।  साँघुरो सडकलाई तत्काल चौडा बनाउन नसकिए पनि जाममुक्त बनाउन सकिने धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य बताउनुहुन्छ । कार्यक्रममा देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँ, प्रहरी उपरीक्षक राजकुमार बैदवार, प्रहरी उपरीक्षक प्रकाश रानाभाट, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मकुन्द मरहठ्ठालगायत उपस्थित हुनुहुन्थ्यो ।