• गृहपृष्ठ
  • ‘संविधान कार्यान्वयन र पालन गर्नु सबै नेपालीको कर्तव्य’

‘संविधान कार्यान्वयन र पालन गर्नु सबै नेपालीको कर्तव्य’

Sep 20th, 2019

काठमाडौँ, ३ असोज (रासस)

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताउनुभएको छ ।
    
संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई स्मरण गर्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको दिनका अवसरमा सबै नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ । जनताका जीवनमा परिवर्तन देखा पर्न थालेको भन्दै उहाँले संविधान कार्यान्वयनका बाँकी कार्य यथाशीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । 

संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्ने र यसका लागि सरकार र सरोकारवाला पक्षले प्रभावकारी कार्य गर्नुपर्ने सन्देशमा भनिएको छ । “हरेक नेपाली जनताले संविधानप्रति अपनत्व महसुस गर्दै आदर र सम्मान गर्नुपर्दछ”, सन्देशमा भनिएको छ । संविधानले कल्पना गरेको समाजवादोन्मुख व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा अघि बढ्ने उहाँको विश्वास छ ।