• गृहपृष्ठ
  • दक्षिण कोरिया, जापानी कुटनीतिज्ञहरुबीच वार्ता

दक्षिण कोरिया, जापानी कुटनीतिज्ञहरुबीच वार्ता

Sep 20th, 2019

सियोल, ३ असोज (रासस/सिन्ह्वा)
दक्षिण कोरिया र जापानका उच्च कुटनीतिक तहमा कोरियाली युद्धताकाको जबर्जस्ती श्रम र द्विपक्षीय व्यापार विवादका विषयमा टोकियोमा शुक्रबार वार्ता भएको छ । 

सियोलस्थित विदेश मन्त्रालयका अनुसार दक्षिण कोरियाली विदेश मन्त्रालयका एसिया तथा प्रशान्त मामिलाका महानिर्देशक किम जङ–हान र उहाँका जापानी समकक्षी शिगेकी ताकिजाकीबीच भेटवार्ता भएको हो । उहाँहरुबीच दोस्रो विश्वयुद्धताकाको जबर्जस्ती श्रम समेतका आपसी हितका विषयमा छलफल भएको थियो ।

किमले ताकिजाकीलाई युद्धपीडितका बारेमा दक्षिण कोरियाली धारणा अवगत गराउनुभएको थियो । कोरियाली द्वीपमा सन् १९१०–१९४५ सम्म रहेको जापानी उपनिवेशका क्रममा बिना पारिश्रमिक ठूलो संख्यामा कोरियालीलाई काममा लगाइएको र त्यसबापत पीडितलाई आजसम्म क्षतिपूर्ति नदिइएको आरोप दक्षिण कोरियाको छ ।

जापानले भने सन् १९६५ मा सम्पन्न सन्धिमार्फत सबै औपनिवेशिक समयका विवादहरु टुङ्गिएको दाबी गर्दै आइरहेको छ । यो सन्धिपछि दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर दक्षिण कोरियाले पीडित व्यक्तिको अधिकार माग्ने हक सुरक्षित रहेको जनाउँदै आएको छ । 

यसैगरी, कोरियाली दूतले सियोल विरुद्ध लगाइएका निर्यात प्रतिबन्धहरु फुकुवा गर्न आग्रह गर्नुभएको छ । दुबै मुलुकबीच व्यापारमा देखिएका गतिरोध अन्त्य गर्न संवाद नै उपयुक्त विकल्प रहेको पनि कोरियाली दूतले बताउनुभएको छ ।

जापानले गत जुलाईमा तीन किसिमका प्रमुख सामग्रीहरु कोरिया निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यी सामग्रीहरु मेमोरी चिप्स र डिस्प्ले प्यानल बनाउन प्रयोग हुन्छ । कोरियाबाट निकासी हुने इलेक्ट्रोनिक सामग्रीहरु तिनै जापानी चिप्समा टिकेको कोरियाको भनाई छ ।

टोकियोले विश्वासिलो व्यापारिक साझेदारको सूचीबाट पनि कोरियालाई हटाएको थियो । प्रतिशोध स्वरुप कोरियाले पनि जापानलाई विश्वासिलो व्यापारिक साझेदारको सूचीबाट हटाएको थियो ।

किम र ताकिजाकी दुबैले संवाद र छलफललाई निरन्तरता दिने सहमति गरेका छन् ।