सागका लागि आर्चरीका १६ खेलाडी छनोट

Sep 17th, 2019

कास्की, ३० भदौ (रासस)
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) मा आर्चरीका लागि १६ खेलाडी छनोट गरिएका छन् । 
यही भदौ २८ गतेदेखि आजसम्म पोखरा रङ्गशालाको आर्चरी मैदानमा सञ्चालन भएको छनोट प्रतिस्पर्धाबाट १७ पुरुष र ११ महिलामध्येबाट रिकर्भका लागि चार/चारजना पुरुष तथा महिला खेलाडी छनोट गरिएका नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताउनुभयो । 

पुरुषतर्फ असिम शेरचन(पोखरा), रोशननगरकोटी(आर्मी), डम्बरबहादुर थापा(आर्मी) तिलक पुन मगर(प्रहरी) तथा महिलामा मित्र राई(आर्मी), ज्ञानु अवाले(आर्मी), विष्णुमाया लिम्बू(पोखरा) र आइसा तामाङ(आर्मी) रहेका छन् । आर्चरीमा रिकर्भ र कम्पाउण्ड क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ । कम्पाउण्डतर्फ भने यसअघिनै चार पुरुष र चार महिला खेलाडी छनोट गरी सकिएका खेलाडी छनोट समितिका संयोजक वसन्त थकालीले जानकारी दिनुभयो ।

 जसमा पुरुषतर्फ रमेश भट्टचन(काठमाडौँ) सनातन मल्ल(काठमाडौँ), योगेन्द्र शेरचन(पोखरा) र मीनप्रसाद गौचन(काठमाडाँै) छन् । महिलातर्फ पार्सदा आचार्य(काठमाडाँै) मोनिका राना(पोखरा), रश्मी दर्लामी मगर(पोखरा) र मञ्जु बजगाईँ(आर्मी) रहेका छन् । सागमा छनोट भएका खेलाडीको बन्द प्रशिक्षण आगामी असोज १ गतदेखि  पोखरा रङ्गशालामा शुरु हुने सङ्घले जनाएको छ । 

सागमा आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्ट पदका लागि प्रतिस्र्धा हुने थकालीले जानकारी दिनुभयो ।  

श्रीलङ्काको कोलम्बोमा भएको सागको १०औँ संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो ।  पहिलोपटक कुनै पनि पदक नजितेको नेपालले ११औँ संस्करणमा रिकर्भ क्याटेगोरीमा पुरुष टिम इभेन्टमा काश्य पदक प्राप्त गरेको थियो भने १२औँ सागमा  रिकर्भतर्फ  पुरुष  व्यक्तिगतमा काश्य पदक ल्याएको थियो । यसपटक घरेलु मैदानमा प्रतियोगिता सञ्चालन हुने भएकाले स्वर्ण पदकको आश गरिएको र खेलाडीले समेत सोहीअनुसार कडा मेहनत गरिरहेका सङ्घका अध्यक्ष गुरुङले बताउनुभयो ।