• गृहपृष्ठ
  • ओखलढुङ्गामा आफ्नो व्यक्तिगत लगानीमा दुई पुल निर्माण

ओखलढुङ्गामा आफ्नो व्यक्तिगत लगानीमा दुई पुल निर्माण

Sep 17th, 2019

ओखलढुङ्गा, ३१ भदौ (रासस)
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गर्नुभएको छ । 

पर्यटन व्यवसायीसमेत रहनुभएका शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६  वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरिएको हो । 

गाउँका ठाडो खोलामा वर्षाको समयमा आउने भेलका कारण स्थानीयलाई आवजजावतमा समस्या भएकाले पुल निर्माणमा सहयोग गरेको शेर्पाले बताउनुभयो । विद्यार्थीलाई विद्यालय जान आउनसमेत खोलामा आएको भेलले अवरोध गर्ने गरेकाले पुल बनाएर समस्या समाधान गरेको शेर्पाको भनाइ छ । “गाउँमा सानासाना समस्या छन् । समाधानमा कसैको चासो देखिएन त्यसैले मैले आफौले आफ्नो गाउँको विकासका लागि सहयोग गरेको हुँ”, शेर्पाले रासससँग भन्नुभयो, “खोलामा आउने बाढीमा परेर कसैले ज्यान गुमाउन नपरोस् र कष्टकर यात्रा गरेर जोखिम मोल्न नपरोस् भनेर पुल बनाईदिएँ । अठ्यारो थियो आसपासको बाटो त्यो पनि मर्मत गर्न खर्च पठाएँ स्थानीय साथीहरुले काम गर्नुभयो ।” शेर्पाले पुल निर्माण र बाटो मर्मतका लागि रु दुई लाख ५० हजारभन्दा बढी रकम खर्च गर्नुभएको छ । 

खोलामा पुल निर्माणपछि त्यसक्षेत्रमा यात्रा गर्नेलाई सहज भएको थामथोले आधारभूत विद्यालयका प्रअ राजेन्द्र सुनुवारले बताउनुभयो । थामथोले आधारभूत विद्यालयका स्पोन्सरसमेत रहेका शेर्पाको पहलमा खोलामा पुल बनेपछि थामथोले आवि, फूलमती माविसहितका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र गाउँपालिकाको केन्द्र आवतजावत गर्ने स्थानीयवासीलाई सजिलो भएको प्रअ सुनुवारको भनाइ छ । समाजसेवी शेर्पाले विगतदेखि नै गाउँमा विभिन्न सामाजिक काम गर्दै आउनुभएको छ ।