• गृहपृष्ठ
  • दक्षिण कोरियामा पनि ‘स्वाइन फ्लू’ देखियो

दक्षिण कोरियामा पनि ‘स्वाइन फ्लू’ देखियो

Sep 17th, 2019

सियोल, ३१ भदौ
(रासस/एएफपी)

दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा पुष्टी गरेका छन् । 

सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म कैयौँ सुँगुर मारिएका छन् । अफ्रिकाबाट सुरु भएको यस प्रकोपका कारण ती देशका पनि कैयौँ सुँगुर काटिएका थिए जसका कारण हाल विश्वभर संँुगुरको मासुको मूल्य बढेको छ । 

सङ्क्रमणका कारण ज्वरो आउने यस स्वाइन फ्लू नामक प्रकोप देखा परेको दक्षिण कोरिया पछिल्लो देश हो । 

दुई कोरियाको सीमा क्षेत्रमा रहेको एक नगर पाजुको एक सुँगुर फार्ममा पाँच ओटा सुँगुर मरेको अवस्थामा भेटिएका थिए । 

मरेका ती सुँगुर भेटिएपछि गरिएको अनुसन्धानका क्रममा ती सुँगुरमा नै फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयका कर्मचारीलाई उद्धृत गर्दै दिइएको समाचारमा जनाइएको छ । 

दक्षिण कोरियाको कृषि मन्त्रालयका अधिकारीले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार फार्ममा मरेका सुंगुरमा स्वाइन फ्लू प्रमाणित भइसकेको छ, अरु अनुसन्धान जारी छ । 

ती अधिकारीले उत्तर कोरियाको सिमानाबाट उक्त फ्लू दक्षिणमा देखिएको हुनसक्ने अनुमानलाई अहिले नै स्वीकार गर्न भने नसकिने बताए । 

उनले भने– अहिले नै यो फ्लू उत्तर कोरियाबाट यता स¥यो भनेर भन्न सकिने अवस्था छैन, किनभने यसबारेमा अनुसन्धान भइरहेकाले उक्त सम्भावनालाई पुष्टि गर्नु चाँडै हुनेछ । 

दक्षिण कोरियाका कृषि मन्त्री किम हायन सुले उक्त फार्ममा ३ हजार ९५० ओटा सुंगुर रहेकोले उनीहरुलाई विशेष निगरानीमा राखिने जानकारी दिनुभयो ।

उहाँले त्यस फार्ममा स्वाइन फ्लूको प्रकोप देखिएको प्रमाणित भएकोले देशभरि अन्यत्रतिर पनि यसको सतर्कता अपनाइने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । 

देशैभरि घरपालुवा जनावरहरुमा विशेष निगरानी राखिएको र सुंगुरको कतै पनि ओसारपसारमा पूर्णत रोक लगाइएको पनि उहाँले बताउनुभयो ।

दक्षिण कोरियामा स्वाइन फ्लूको प्रकोप पहिलो पटक देखिएको भए पनि यहाँ विभिन्न समयमा जनावर तथा चराचुरुङ्गीमा भने रोग देखा परेको थियो । 

सन् २०१४ मा चरामा लाग्ने एभियन इन्फ्लुएन्जा देखिएकोले यहाँका लाखौँ लाख कुखुरा प्रभावित भएका समाचारमा जनाइएको थियो ।