सिटिजन्स बैंक र एन.बि.आई बीच सम्झौता

Sep 17th, 2019

काठमाडौं, ३१ भदौ 
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एन.बि.आई) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंक ईन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  गणेशराज पोखरेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एन.बि.आईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथै एन.बि.आइले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृतिविकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

बैकले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको जनाएको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।