• गृहपृष्ठ
  • राप्रपाले एनसेल प्रकरणको विषयलाई संघर्ष र आन्दोलनको रूपमा अघि बढाउने : कमल थापा

राप्रपाले एनसेल प्रकरणको विषयलाई संघर्ष र आन्दोलनको रूपमा अघि बढाउने : कमल थापा

Sep 17th, 2019

काठमाडौँ, ३१ भदौ
राप्रपाका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणको विषयलाई संघर्ष र आन्दोलनको रूपमा अघि बढाउने बताए ।

राप्रपाको न्यायिक समितिद्वारा काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एनसेल प्रकरणले आर्थिक रूपमा देशलाई ठुलो घाटा पुर्‍याएको र देशमा ठुला ठुला भ्रष्टाचारको काण्ड सार्वजनिक भइरहेको तर अनुशासन गर्ने निकाय र न्याय दिने निकायको इमानदारीता, निष्पक्षता र इच्छाशक्तिको कमी भएको बताए ।

एनसेल करछली प्रकरण इतिहासकै सर्वाधिक ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै अध्यक्ष थापाले राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गइरहेकोमा चिन्ता प्रकट गरे।

थापाले सुकदेव खत्री महालेखा परिक्षक रहदा आफ्नो प्रतिवेदनमा एनसेल कर छलीको विषय उजागर गर्नुले नै आज देशको एनसेलको विषय जल्दोबल्दो मुद्दा बनेको र  एनसेलको विषयले हाम्रो संरचनामा धमिरा लागेको बताएका प्रमाणीत गरेको बताए । उनका अनुसार
 एनसेल भ्रष्टाचार काण्डको निराकरण गर्न सके देशमा लागेको धमिरा समेत अन्त्य हुने छ  ।

त्यस्तै राप्रपाले एनसेल भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, संघर्ष र आन्दोलनको रूपमा समेत लैजाने र  एनसेल प्रकरण राष्ट्रिय हित विपरित र संविधानको भावना विपरीत भएको थापाले बताए । 

साथै एनसेल कर छली विरुद्धका अभियान्तहरुले एनसेल विषयमा सशक्त रूपमा पुर्नजागारण गरेबाट देश र जनताप्रतिको दायित्व पूरा गरेको बताए ।

एनसेल कर छली प्रकरण विरुद्धका अभियन्ता डा.सुरेन्द्र भण्डारीले एनसेल कर छली प्रकरणमा भएको सर्वोच्च अदालतको फैसला राष्ट्रघात, असंवैधानिक र गरिबमारा फैसला भएको जानकारी दिए । उनले प्रचलित कानुन बमोजिम एनसेल बिक्री हुँदाको लाभकर नतिरेकोमा देशलाई ठुलो घाटा लागेको दाबी गरे र  एनसेलले कर छलीबाट जरिवाना समेत गरि हालसम्म ४ सय अर्ब तिर्नुपर्ने बक्यौता रकम पुगेको बताए ।

पुर्व सचिव द्वरिकानाथ ढुङ्गेलले १२ औं पटक बिक्री गर्दा १ खर्ब ४४ अर्बमा बिक्री भएकोमा राज्यलाई तिर्नुपर्ने कर नतिर्ने र राज्यले चासो नदिनुले राजनीतिक दल, मुख्य नेता, कर्मचारी प्रशासन र न्यायालयको नियत प्रष्ट भएको बताए। उनले अदालत समेतले एनसेलको विषयमा त्रुटिपूर्ण फैसला गरि न्याय मारेको आरोप समेत लगाए ।

पुर्व महालेखा परिक्षकका पुर्व का।वा निर्देशक सुकदेव खत्रीले एनसेल बिक्री प्रकरणमा नर्बेको टेलेसोनेरा कम्पनीले एनसेल बिक्री गरेको भएता पनि उक्त कम्पनी बन्द भएको हुँदा एनसेल त्यसको जिम्मेवारी लिदै कर तिर्नु पर्ने बताए । खत्रीले एनसेल बिक्री गर्नु पूर्व कर तिर्ने सम्बन्धमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीलाई जानकारी गराएकोमा प्रधानमन्त्री सितको वार्तापछि एनसेल कर तिर्नु पर्ने भनी बाहिर आफ्नो धारणा प्रस्तुत गरेको र यस विषयलाई जनताको आँखाबाट हेरिएको र जनताले नै निर्णय गर्ने बताए ।

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङ्देन लगायतको नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।