• गृहपृष्ठ
  • बाख्रा चराउन जङ्गलमा गएको बेलामा भालुको आक्रमणबाट गम्भीर घाइते

बाख्रा चराउन जङ्गलमा गएको बेलामा भालुको आक्रमणबाट गम्भीर घाइते

Sep 16th, 2019

डोटी, ३० भदौ
जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।

बाख्रा चराउन घर नजिकैको जङ्गलमा गएको बेलामा जङ्गली भालुले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भालुको आक्रमणबाट साउदको कान, नाक, घाटी, टाउको र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । भालुको आक्रमणमा परी गम्भीर घाइते भएका साउदलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको स्थानीयवासी चक्रबहादुर कठायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भालुको आक्रमणबाट साउद अचेत अवस्थामा थिए, जिल्लामा उपचार हुन नसक्ने भएपछि बयलपाटा लगिएको हो ।” डोटीमा जङ्गली भालुको आक्रमणमा परी अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने करीब २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट वर्षेनी जङ्गली भालुलगायतका अन्य जनावरहरु गाउँघरमा आहारको खोजी गर्दै आउने र स्थानीयवासीलाई आक्रमण गर्ने गरेको बताइएको छ ।