• गृहपृष्ठ
  • नागरिकता दुरुपयोग रोकिने संकेत, दुरुपयोग गर्नेलाई कडा सजायको प्रस्ताव

नागरिकता दुरुपयोग रोकिने संकेत, दुरुपयोग गर्नेलाई कडा सजायको प्रस्ताव

Sep 16th, 2019

काठमाडौं, ३० भदौ
अब कसैले पनि नागरिकताको दुरुपयोग गर्न नपाउने भएका छन् । नागरिकता सम्बन्धी विधेयकमा एकभन्दा बढी नागरिकता लिएमा १ वर्षदेखि ५ वर्षसम्म कैद, १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजायको ब्यवस्था गरिएको छ । 

राज्य व्यवस्था समितिमा छफलफ यस्तो ब्यवस्था गरिएको हो । त्यस्तै आफ्नो सन्तानलाई सनाखत गर्न सरकारी ताकेतापछि पनि विनाकाकारण उपस्थित नहुनेलाई ३ महिनादेखि ६ महिनासम्म कैद, ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने विषयमा पनि सहमति जुटेको छ ।

यसैगरी झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिने विदेशी वा नेपालीलाई कस्तो सजाय हुने भन्ने विषयमा भने सहमति हुन सकेको छैन । झुटो विवरण उल्लेख गरी नेपाली नागरिकता लिने विदेशीलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना वा दुबै सजाय हुने ब्यवस्था २०६३ सालकै ऐनमा छ । 

सरकारले पेश गरेको संशोधन विधेयकमा सनाखत गर्नेलाई समेत कारबाहीको ब्यवस्था प्रस्तावित छ तर सहमति भने हुन सकेको छैन । गृह मन्त्रालयका अनुसार समेत करिब ४ सय नागरिकता गैर नेपालीको हातमा पुगेको पाइएको छ । 

अहिले मुल ऐनको दफा ४ (जुन संशोधन विधेयकमा हटाउने प्रस्ताव गरिएको छ) त्यही व्यवस्थाअनुसार नेपाली नागरिक बनेकाहरुको सन्तानलाई अर्थात् संविधान जारी भएको मिति २०७२ असोज ३ अघि नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिने प्रस्ताव सरकारले संसदमा दर्ता गरेको विधेयकमा प्रस्तावित छ । यसैबिच छफफलको क्रममा बाबुको पत्ता नलागे वंशज, विदेशी प्रमाणित भए अंगिकृत हुनेगरी नागरिकता दिनुपर्ने आवाज पनि उठेको छ । 

विदेशीसँग विवाह गरेका नेपालीले नागरिकता लिनुपरे विदेशको नागरिकता त्याग्नुपर्ने व्यवस्था संशोधन विधेयकमा प्रस्तावित छ । तर बाबु पत्ता नलागे बंशजको नागरिकता दिने व्यवस्थामा समितिमा सहमति समेत भइसकेको छ ।

सरकारले पेश गरेको विधेयकमा आमाको स्वघोषणालाई मान्ने गरी नागरिकता दिने व्यवस्था गरिएको छ । बाबुको पत्तो नलाग्नेगरी आमाले निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिएपछि बाबुको पत्तो नलागेपनि नागरिकता पाउने व्यवस्था प्रस्तावित छ ।