• गृहपृष्ठ
  • पर्यटन क्षेत्रमा डेङ्गुको प्रभाव हुन नदिन निर्देशन

पर्यटन क्षेत्रमा डेङ्गुको प्रभाव हुन नदिन निर्देशन

Sep 16th, 2019

काठमाडौँ, ३० भदौँ 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा डेङ्गुको प्रकोपबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरणका लागि निर्देशन दिनुभएको छ । 

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणका विषयमा आज मन्त्रालयमा सरोकार भएका निकायसँग छलफल गर्दै उहाँले डेङ्गुले पर्यटनमा पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वसर्तकता अपनाउन निर्देशन दिनुभएको हो ।
    
उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सबै विमानस्थल सफा राख्ने तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्डअनुसार औषधि छर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ । 

साथै नेपाल होटल सङ्घ, रेष्टुरेन्ट व्यवसायी सङ्घ, पर्यटक यातायातलगायत पर्यटकीय सेवा दिने विभिन्न निकायले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधिकोसमेत मापदण्डअनुरुप गर्न गराउन निर्देशन दिनुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    
मन्त्री भट्टराईले डेङ्गुबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सही सूचना शीघ्र प्रवाह गरी यसको असर न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खुल्ला क्षेत्र रहेका तथा पर्यटकको बढी उपस्थिति रहने पशुपति, लुम्बिनी, जनकपुर, पोखरा एवं सौराहालगायतका पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान चलाउन निर्देशन दिनुभयो । 

यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा यससम्बन्धी तथ्यपूर्ण सूचना सम्प्रषेण गरी नेपालको पर्यटन क्षेत्रमा यसको असर पर्न नदिन तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय दृष्टीले नेपाल पूर्ण सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्डलाई उहाँले निर्देशन दिनुभएको जनाइएको छ ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विशेषज्ञ प्रतिनिधि, गृह मन्त्रालयका प्रतिनिधि, प्राधिकरण, होटल सङ्घ, वायुसेवा सञ्चालकका प्रतिनिधि, पर्यटक बस व्यवसायी सङ्घलगायतका पर्यटन तथा हवाई क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस