मर्जरमा जान चाहन्छन् यी बैंकहरु

Sep 16th, 2019

काठमाडौ, ३० भदौ
सात वटा वाणिज्य बैंकले मर्जरमा जाने संकेत देखाएका छन् । नेपाल राष्ट्र बैंकमा प्रगति विवरण बुझाउदै मर्जरमा जाने संकेत देखाएका हुन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई १० दिनभित्र मर्जर सम्बन्धमा प्रगति विवरण बुझाउन निर्देशन दिएको थियो ।

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकमा बिवरण पठाउनेमा नविल बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, एनएमबि बैंक, जनता बैंक र सानिमा बैंक छन् । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक नगर्दै २२ वटा बैंकले मर्जरमा जाने प्रतिबद्धता जनाएका थिए । 

मौद्रिक नीतिमा मर्जर सम्बन्धी कठोर नीति नआएपछि बैंकहरु मर्जरबाट पछि हटेका थिए । पहिले मर्जरमा जाने प्रतिवद्धता नबुझाएका नविल र एभरेष्ट बैंकले पनि उपयुक्त जोडी खोजी भइरहेको भन्दै राष्ट्र बैंकमा पत्र पठाएको बताइएको छ । 

बैंकहरुले राष्ट्र बैंकमा बुझाएको मर्जरको प्रतिवद्धतापत्र अनुसार काम भइरहेको छ कि छैन भनेर प्रगति विवरण माग गरिएको हो । राष्ट्र बैंकले असार १२ गते पहिलोपटक बैंकहरूसँग मर्जर प्रतिबद्धता माग गरेको थियो । प्रतिबद्धता जनाएका बैंकसँग १० दिने समय दिएर प्रगति बिवरण मागिएको हो ।