neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

विदेशी टोलीद्वारा सम्पदा अवलोकन

Sep 15th, 2019

भक्तपुर, २९ भदौ
ऐतिहासिक सम्पदाको अवलोकन गर्न काठमाडौँ महानगरपालिकाको निमन्त्रणमा आएको विदेशी टोलीले भक्तपुरको सम्पदाको अवलोकन गरेको छ । उक्त टोलीले आज भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गरेको हो । 

चीनको ‘लाञ्जााउ कमिटी अफ द सिपिपिसिसी’का उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट आफूहरु उत्साहित भएको बताउनुभयो । “नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ, काठमाडौँ बसाइ रमाइलो भयो, इन्द्रजात्रामा नेपाली जनताको उत्साह तथा नेपालीको सम्पदाप्रतिको सम्मान देखेर म निकै प्रभावित भएँ”, उहाँले भन्नुभयो । उहाँले आफूले यहाँको सांस्कृतिक सम्पदाबारे सुनेको तर यहाँ आएर हेर्दा निकै प्रभावित भएको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँगै चन्द्रागिरिको अवलोकन भ्रमणपछि सिओहाङ नेतृत्वको टोलीले स्वयम्भूको समेत अवलोकन भ्रमण गरेको थियो ।

यस्तै भक्तपुरको अवलोकन भ्रमणमा आउनुभएका भारतको उत्तरी दिल्ली नगरपालिकाका प्रमुख सरदार अवतार सिंहले नेपालको प्राकृतिक सम्पदाबाट प्रभावित भएको बताउनुभयो । उहाँले यहाँका सम्पदाबारे आफ्नो नगरका बासिन्दालाई जानकारी गराउने बताउनुभयो । “पर्यटन वर्षमा नेपाल भ्रमण गर्न सन्देश प्रवाह गर्छु”, उहाँले भन्नुभयो । विज्ञान सङ्ग्रहालयको अवलोकनपछि आफू झन प्रभावित भएको भन्दै सिंहले नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गर्नुभयो । 

यस्तै भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जीले नेपाल सम्पदा संरक्षण र विकासको गतिमा अघि बढेको भन्दै खुशी व्यक्त गर्नुभयो । यहाँको संस्कृतिबाट आफू प्रभावित भएको दोर्जीले बताउनुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित विदेशी पाहुनाले भक्तपुरको सांस्कृतिक सम्पदाको भ्रमण गर्नुभएको हो । प्रमुख शाक्यले यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न र इन्द्रजात्रालाई विश्वसामू चिनाउने उद्देश्यले विदेशी पाहुनालाई आमन्त्रण गरिएको बताउनुभयो । “विदेशी पाहुनाको भ्रमणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्छ” उहाँले भन्नुभयो । विदेशी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख सर्जनी जोशीसहितको टोलीले स्वागत गरेको थियो ।रासस

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi