• गृहपृष्ठ
  • डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु

डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु

Sep 15th, 2019

विराटनगर, २९ भदौ
डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्यक्रम ल्याएको हो ।

शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । महानगरपालिका प्रमुख भीम पराजुलीले नगरस्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै यस कार्यको थालनी गर्नुभएको हो । यसभन्दा अगाडि बस्तीहरुमा मात्र फगिङ गरिएको थियो । लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक–पटक गर्दै आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो अभियान शुरु गरेको छ । यससँगै बस्ती क्षेत्रमा समेत पुनः फगिङ गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिनुभयो ।

शनिबार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी, गैरसरकारी कार्यालय, सामुदायिक विद्यालय, नीजि विद्यालयमा फगर मेसिनबाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमशः गर्दै जाने बताइएको छ । रासस