neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैंकको पैसा नतिर्नेहरु बढे, कालोसूचिमा ८ हजार ३ सय ९२ ऋणी

बैंकको पैसा नतिर्नेहरु बढे, कालोसूचिमा ८ हजार ३ सय ९२ ऋणी

Sep 14th, 2019

काठमाडौं, २८ भदौ
नेपाल राष्ट्र बैंकका अनुसार  गत आर्थिक वर्षमा कालोसूचिमा पर्ने ऋणीको संख्या ह्वात्तै बढेको छ । अहिले कालोसूचीमा पर्ने ऋणीको संख्या ८ हजार ३ सय ९२ पुगेको छ । गत वर्षको असारमा यस्तो संख्या ६ हजार २ सय ४१ थियो । चालु आर्थिक वर्षमा मात्र ऋण नतिर्ने ऋणीको सूचीमा थप २ हजार १ सय ५१ ऋणी थपिएको नेपाल राष्ट्र बैंक बताउँछ ।०७४ असारमा यस्तो संख्या ५ हजार २ सय ४७ थियो ।

आर्थिक वर्ष ०७२/७३ मा ऋण नतिर्ने ऋणीको संख्या ४ हजार ७ सय ८५ थियो । तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थामा ऋण नतिर्ने ऋणीको संख्या करिब साढे ३४ प्रतिशतले बढेको छ । कर्जा माग बढेपछि ऋणीको संख्या पनि बढेको जानकारहरू बताउँछन् ।

तीन महिनासम्म भाखा नाघेको कर्जालाई असल कर्जा नै मानिन्छ । तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल, ६ महिनादेखि एक वर्षसम्म भाखा नाघेकोलाई शंकास्पद र एक वर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाका रूपमा वर्गीकरण गरी तोकिएअनुसार बैंक तथा वित्तीय संस्थाले रकम प्रोभिजन गर्नुपर्छ । यही वर्गीकरणका आधारमा एक वर्षभन्दा बढी भाखा नाघेको कर्जाका ऋणीहरूलाई कालोसूचीमा रहेको भनिएको हो ।

पछिल्ला ५ वर्षमा ऋण नतिर्ने ऋणीको संख्या बढेको देखिन्छ। राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०६९ र ०७० मा ऋण नतिर्ने ऋणी करिब १८ प्रतिशतले बढेका थिए। त्यसपछिका दुई आर्थिक वर्ष यस्तो वृद्धिदर क्रमशः १८ र १२ प्रतिशत रह्यो । ०७२ सालको विनाशकारी भूकम्प, त्यसलगत्तै भारतीय पक्षबाट भएको नाकाबन्दीले आपूर्ति व्यवस्थामा भएको अवरोध, तराई क्षेत्रमा हरेक वर्ष आउने बाढीपहिरो लगायतका कारण ऋणीको संख्या बढेको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले लगानी गरेको मध्ये ६८ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण कालोसूचीमा परेको छ । तोकिएको समयमा ऋणीले नतिरेपछि यो ऋण कालोसूचीमा परेको हो । 

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi