डेङ्गु रोग नियन्त्रण बाहिर छैन : सरकार

Sep 12th, 2019

काठमाडौँ, २६ भदौ
सरकारले डेङ्गु रोग नियन्त्रणभन्दा बाहिर नरहेको स्पष्ट पारेको छ । सामाजिक सञ्चालनमा डेङ्गु रोग नियन्त्रण हुन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रोग नियन्त्रणको प्रयास जारी रहेको र यसप्रति सरकार सचेत रहेको बताउनुभयो । 

मन्त्री बाँस्कोटाले आज सिंहदरबारमा भएको नियमित पत्रकार भेटघाटका क्रममा भन्नुभयो, “नागरिक, स्वास्थ्य क्षेत्र, मन्त्रालय र अरु सङ्घसंस्थाबाट नियन्त्रणको प्रयास हुँदै आएको छ, रोग फैलँदै गएको भए पनि नियन्त्रण बाहिर भने छैन तर यसले दुःख भने दिएको छ, सबै मिलेर समाधान गर्नुपर्छ ।” उहाँले रोग नियन्त्रणप्रति सरकार सचेत रहेको उल्लेख गर्दै नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिनुभयो ।

पछिल्लो प्रतिवेदनले विश्वमा झण्डै ४० करोड मानिस यो रोगबाट प्रभावित भएको र तीन अर्ब मानिस सङ्क्रमणको जाखिममा रहेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको भन्दै उहाँले नेपालमा बिरामीको उपचारमा स्रोतसाधनको व्यवस्था मिलाउने र जनचेतना फैलाउने काम सरकारले गरिरहेको बताउनुभयो । एक्लो सरकारी प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने भनाइ मन्त्री बाँस्कोटाको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको वैशाखदेखि फैलिएको सो रोग देशका ४८ जिल्लामा देखापरेको छ । वैशाख महीनायता करीब ७० हजारले रोगका बारेमा स्वास्थ्य परीक्षण गराएकामा झण्डै छ हजार रोगको सङ्क्रमणबाट प्रभावित हुन पुगेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बुधबारसम्म सो रोगका कारण सिन्धुपाल्चोकमा एक, सुनसरीमा एक, चितवनमा एक, काठमाडौँमा दुई र डोटीमा एक गरी छको मृत्यु भएको छ । 

एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ । रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने पेट तथा आन्द्रामा गडबडी हुन्छ । मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै रोगबाट बच्ने प्रमुख उपाय हो । पूरा शरीर ढाकिने गरी कपडा लगाउने, घर वरपर सफा राख्ने, पानी जम्न नदिने, पानी राख्ने भाँडाजस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम, बट्टाआदि सधैँ छोपेर राख्नुपर्ने चिकित्सकको सुझाव छ । रासस