• गृहपृष्ठ
  • डेंगु संक्रमण : जनता आक्रान्त, सरकार औपचारिकतामा र सांसद प्रश्न सोध्नमा व्यस्त

डेंगु संक्रमण : जनता आक्रान्त, सरकार औपचारिकतामा र सांसद प्रश्न सोध्नमा व्यस्त

Sep 12th, 2019

काठमाडौं, २६ भदौ
डेंगु रोगको प्रकोप  दिनहुँ बढ्दै गएपछि प्रतिनिधिसभा यस रोगको विषयमा चिन्तीत बनेको छ । सरकारले  डेंगुको नियन्त्रण गर्न नसकेको भन्दै सो विषयमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा पटक पटक आवाज उठेपछि स्वास्थ्मन्त्री र सरकारलाई यस विषयबारे संसदलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

केही दिनदेखि सांसदहरुले संसदमा निरन्तर रुपमा डेंगु रोगका विषयमा प्रश्न उठाइरहेका छन् । बिहीबार कांग्रेस सांसद उमा रेग्मीले सरकारले जनताको स्वास्थ्यप्रति वास्ता नगरेको आरोप लगाएकी थिइन् । यता सरकारले भने डेंगु लगायतका महामारी नियन्त्रणका लागि सग्दो प्रयास गरेको वताउदौ आएको छ । यस्ता रोग नियन्त्रणका लागि सरकारले स्थानीय सरकार, प्रदेश र संघमा ९ करोड ६४ लाख बजेट विनियोजन समेत गरेको छ । 

साथै अन्य डेंगु रोकथामका चेतनामूलक कार्यक्रम गरेको छ । तैपनि डेंगुको संक्रमण दिन प्रतिदिन बढ्दो छ । देशका ६२ जिल्लामा डेंगु देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकको अनुसार डेंगुका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् । गएको साउनदेखि हालसम्म करिब साढे पाँच हजार जनामा डेंगु देखिएको ईपिडिमियिोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । देशभर डेंगुबाट ६ जनाको मृत्यु भएको छ । 

महाशाखाले सार्वजनिक गरेको तथ्यांकको अनुसार साउनदेखि भदौं ६ गते सम्ममा एक हजार २ सय ९ जनामा डेंगु भएको थियो । यस्तै भदौंको २२ गतेसम्ममा डेंगुका बिरामीको संख्या ३ हजार ८ सय ९९ पुगेको छ । भदौको तेस्रो साता सम्ममा डेंगुका बिरामीको संख्या तेब्बर भइरहेको महाशाखाको तथ्यांकले देखाउँछ । भदौको पहिलो सातामा ३७ जिल्लामा देखिएको डेंगु भदौंको तेस्रो साता पुग्दा ५६ जिल्लामा फैलिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक करिब ४ सयको हाराहारीमा बिरामी आउने गरेका अस्पताल प्रशासनले जनाएको छ । जसमा करिब ७० प्रतिशतमा डेंगु पोजिटिभ देखिएको चिकित्सकहरुले बताएका छन् । 

सरकारले  यस वर्ष ५० हजार देखि ५ लाख सम्म गरी १ करोड ६७ लाख, ७ वटै प्रदेशमा ८७ लाख देखि ८९ लाख सम्म गरी ६ करोड १७ लाख र केन्द्रमा १ करोड ८० लाख विनियोजन  गरेको छ । अघिल्ला वर्ष डेंगुको प्रकोप देखिएका ८५ स्थानीय तहलाई लक्षित गरी यो वर्ष यस्ता प्रकोप आउन नदिन सयममै सचेत वनेको थियो । तर प्रभावकारी रुपले योजना अघि नबढ्दा डेंगु झन फैलदै गएको छ । 

विगतमा पनि डेंगुको संक्रमण देखिएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा देशभर ८ सय ११ जनामा मात्र डेंगु देखिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा २ हजार १ सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो भने आर्थिक वर्ष २०७२/०७३ मा एक हजार ५ सय २७ जनामा डेंगुको संक्रमण देखिएको थियो । सबैभन्दा बढी संक्रमण आर्थिक वर्ष २०७५/०७६ मा  देखिएको छ । गत वैशाखमा सुनसरीबाट फैलिएको डेंगुले अहिले ५८ जिल्लामा प्रकोपको रुप लिएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुले एकै परिवारका सबै सदस्यमा संक्रमण फैलिएपछि डेंगुको प्रकोपबाट मानिसहरु त्रसित बनेका छन् । रोग नियन्त्रणका लागि समयमै योजना नबनाउँदा देशभर डेंगुको प्रकोप फैलिएको चिकित्सकहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार बंगलादेशमा ५० हजार र श्रीलंकामा हजार मानिसमा डेंगुको संक्रमण देखिएको छ । विश्व स्वस्थ्य संगठनले एस्पिरिन, ब्रुसेट, फ्लेक्सोनजस्ता दुखाइ कम गर्ने औषधिहरुको प्रयोग नगर्न चेतावनी नै जारी गरेको छ । चिकित्सकहरुका अनुसार डेंगु अरु धेरै संक्रामक रोगहरुको तुलनामा घातक मानिँदैन । चिकित्सकका अनुसार एक्कासि उच्च ज्वरो आउनु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, असाध्यै टाउको दुख्नु, शरीरमा बिमिरा आउनु, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्नु आदि डेंगुका लक्षण हुन् । 

कसरी सर्छ डेंगु ?
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् । यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ ।

वर्षातपछि पानी जम्ने स्थानहरुमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी हुने हुँदा वर्षातपछि डेंगुको संक्रमण पनि बढेको पाइन्छ । पानी जम्ने टिनका डब्बाहरु, रङ्गका खाली डब्बा, थोत्रा तथा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यो जातको लामखुट्टेले फुल पार्ने र नयाँ लामखुट्टेको संख्या बढाउने काम गर्छ ।

यदि यस्तो हुन्छ भने डेंगुको लक्षण हो :
–एक्कासी उच्च ज्वरो आउनु,
–लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
–असाध्यै टाउको दुख्नु,
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
–ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
–शरीरमा बिमिरा आउनु ।

यसो गर्नुस डेंगुबाट बचिन्छ :
–डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
–पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा  पानी जम्न नदिने उपाय गर्नुपर्छ,
–पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
–कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक(दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
–फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
–एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
–लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।