• गृहपृष्ठ
  • नेकपा सचिवालय : उपनिर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव पौडेललाई जिम्मेवारी

नेकपा सचिवालय : उपनिर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव पौडेललाई जिम्मेवारी

Sep 11th, 2019

काठमाडौँ, २५ भदौ 
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आउँदो मङ्सिरमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले तीनै तहको रिक्त उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानूनी व्यवस्थाअनुसार दल दर्ता गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी महासचिव पौडेललाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले पार्टी एकताका विषयमा भने आजको बैठकमा छलफल नभएकाले आगामी बैठकमा छलफल हुने जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “दल दर्तासम्बन्धी सबै प्रक्रिया पूरा गरेर टुङ्ग्याउन महासचिव पौडेललाई जिम्मेवारी दिइएको छ, अरु साङ्गठनिक एकीकरणसँग सम्बन्धित विषयका बारेमा छिटै अर्को बैठक आयोजना गरेर निर्णय लिइने छ ।”

सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको ५० पदमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सोही उपनिर्वाचनको प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समयसीमा तोकेको छ ।

आयोगका अनुसार मङ्सिर १४ मा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४१ गरी ३६ जिल्लामा ५० पदमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनको तयारीका कामहरु जारी रहेको आयोगले जनाएको छ । रासस