दक्ष व्यावसायिक जनशक्ति विकासमा जोड

Sep 11th, 2019

काठमाडौं, २५ भदौ 
नेपालजस्तो मुलुकले आर्थिक उन्नति हासिल गर्नका लागि दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)मा सञ्चालित एक वर्षे टेफ कोर्षको समापनका अवसरमा विज्ञहरूले नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्राविधिक तथा व्यावसायिक शिक्षा आवश्यक रहेको बताएका हुन् ।

अष्ट्रेलियाको व्यावसायिक शिक्षा प्रदायक टेफ÷एनएसडब्लूको मान्यताप्राप्त एक वर्षे कल्नरी कोर्ष विगत केही वर्षयता गेट कलेजले सञ्चालन गर्दै आएको छ । कार्यक्रममा नेपालस्थित अष्ट्रेलियाका निमित्त राजदूत (हेड अफ दि मिसन) ग्राहम मर्फीले नेपालमै अष्ट्रेलियाको मान्यताप्राप्त व्यावसायिक शिक्षा प्रदान भइरहेकोमा खुसी व्यक्त गर्दै यस्तो व्यावसायिक शिक्षाप्राप्त जनशक्तिको माग बढेको चर्चा गर्नुभएको थियो।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको भन्दै प्राविधिक तथा व्यावसायिक शिक्षा लिएका जनशक्तिले विकासमा भूमिका खेल्न सक्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले कलेजले विगत एक दशकभन्दा लामो समयदेखि दक्ष जनशक्ति विकासका लागि पहल गर्दै आएको बताउँदै नेपालमा बढ्दो पर्यटन उद्योगको आकारले यस्ता जनशक्तिको मागसमेत बढेको बताउनुभयो ।

सो अवसरमा म्यारिअट काठमाडौंका एक्जुकेटिभ सेफ सञ्जीव राजन, नेपाल सेफ्स एसोसियनका पूर्वअध्यक्ष गोविन्दनरसिंह केसीलगायतका वक्ताहरूले पर्यटन उद्योगमा बढ्दो दक्ष जनशक्तिको माग पूर्ति गर्नका प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदायकहरूको बढ्दो भूमिका बारे चर्चा गर्नुभएको थियो ।