कमिककन नेपाल, २०१९, यही भदौ २८ २७ र गते

Sep 7th, 2019

काठमाडौं, २१ भदौ
तेस्रो वार्षिक कमिककन नेपाल, यही भदौ २८ २७ र गते हेरिटेज गार्डेन, सानेपामा हुने भएको छ । ट्रिब्युट टु स्टान ली शिर्षकका साथ भि–चित्र एडभरटाइजिंगको व्यवस्थापन, ओटाकु क्लबद्वारा गरिने कसप्ले निगरानी र वास्ड एरिनाले गर्ने गेमिङ्गको प्राविधिक खण्डको व्यवस्थापनमा आयोजना हुने भएको आयोजकले जनाएको छ ।

कमिककन नेपाल एक त्यस्तो कार्यक्रम हो जहाँ असंख्य कमिक/माँगा, आर्ट, एनिमेसन र गेमिङ्गका फ्यानहरु एक आपसमा भेट गर्ने गर्दछन् र उनीहरुको आफ्नो रुचीलाई आर्ट र कसप्लेमार्फत् उजागर गर्दै आफ्नो चाहनाका बारेमा छलफल गर्छन् । यहाँ सहभागीहरुले आफ्नै पोशाक निर्माण गर्दछन् र आफूलाई मनपर्ने चरित्र जस्तै पोशक पहिरिएर प्रस्तुत हुन्छन् । यो कार्यक्रममा हरेक पटक ६,००० भन्दा बढी आगन्तुकहरुले सहभागीता जनाउने आयोजकको भनाइ रहेको छ । 

कमिककन नेपालका अनुसार कमिककन र कस्प्ले सबै सर्जक र उसको सिर्जनाको बारेमा हो र यो वर्ष महान सर्जक स्टान ली प्रति आभार कमिकनले आभार व्यक्त गरेको छ । उनीहरुको मुख्य लक्ष्य मानिसहरुलाई आफ्नो सपना कहिल्यै नत्याग्न तथा त्यो सपनालाई मूर्त रुप दिन प्रेरित गर्नु रहेको कमिककन नेपालले जनाएको छ ।  

जीरो स्टरका सिइओ अनुज प्रधानले भन्नुभयो, “यस कार्यक्रमको मुख्य उद्देश्यभनेको नेपालमा पप संस्कृतिलाई बढावा दिलाउनु हो । यो एनिमे र डिसि÷मार्बल सुपरहिरो सिनेमाहरुका फ्यानका लागि एक आपसमा मिसिने मञ्च हो ।” यसैगरी कमिककन नेपालका प्रोप्राइटर अभिनव श्रेष्ठले भन्नुभयो, “यसप्रकारको कार्यक्रमहरुले एउटा संंस्कार बसाउन मद्दत पु¥याएको छ, जसले प्रशंसकहरुलाई उनीहरुको सिर्जनशीलता प्रष्फुटन गर्न र आफूलाई कलात्मक अतवरमा प्रस्तुत गर्न अवसर प्रदान गरेको छ ।”

आयोजकका अनुसार, प्रतियोगिताको पुरस्कार राशिको व्यवस्था पनि गरिएको छ, जस अनुसार ४ विधाकास्पर्धाहरु.(कसप्ले, गेमिङ्ग, आर्ट र ए एमभि) का लागि अन्य थुप्रै पुरस्कारहरुसँगै ४ लाख ५ हजार रुपैयाँ नगद प्रदान गरिने भएको हो । यस वर्ष कसप्लेलाई ट्रिब्युट टु स्टान ली स्पर्धामा विशेष सम्मान दिए सँगसँगै गेमिङ्ग खण्डमा टेकेनका साथसाथै डोटा र सिएसलाई पनि समावेश गरिएको छ । यसर्थ, एक टायटन जसरी खेलाडीहरुबीच हुने लडाईंको प्रत्यक्षदर्शी बन्न तयार रहन र अधिकारिक जानकारीका लागि social media platform @comicconnepal हेर्नुपर्ने आयोजकले जनाएको छ । 

कसप्ले र गेमिङ्ग मात्र होइन कार्यक्रममा लोकप्रिय अभया एण्ड दि स्टिम इन्जिन्स र पहेंलो बत्ति मुनिले पनि आफ्ना लोकप्रिय गीत संगीतको प्रस्तुति दिने छन् भनें साथमा एनिमे र स्टान ली शिर्षक सम्बद्ध नृत्य र संगीतका प्रस्तुतिहरु पनि गरिनेछन् । कार्यक्रममा आमन्त्रित अतिथिहरु, फुड स्टलहरु, फ्रेन्चाइजका लागि स्टलहरु, मूर्तिहरु, पोस्टरहरु र टि–सर्टहरु पनि रहने छन् । आयोजकका अनुसार, एक बृहत् संख्यामा दर्शकहरुलाई  गेमिङ्ग स्टलहरुमा समेत देख्न सकिनेछ ।

कमिककन नेपालले आर्ट, संगीत, गेमिङ्ग र साहित्यको संसारमार्फत् पप संस्कृति समुदायलाई एकिकृत गर्ने उद्देश्य लिएर नेपालमा हरेक वर्ष कमिक सम्मेलन आयोजना गर्ने गरेको छ । यस भन्दा थप यसले युवाहरुलाई आफ्ना साथीहरुको बीचमा सञ्जाल कायम गर्न सक्ने र आर्ट, डिजाइन, संगीत प्रस्तुति, सार्वजनिक सम्बन्ध तथा अन्य धेरै जस्ता क्षेत्रहरुमा वास्तविक जीवन–कार्य अनुभव बटुल्ने वातावरण प्रदान गर्दछ । आएका र आउँदै गरेका नेपाली लेखकहरु, माँगा कलाकारहरु र खेल सर्जकहरुलाई जापानी/पश्चिमी सञ्चार माध्यम र पप संंस्कृतिका विषयमा आफ्नो उत्सुकता बाँड्ने र उजागर गर्ने यो एक स्थल प्राप्त हुने र यो टिमले उपत्यका भन्दा बाहिर पनि निकट भविष्यमा कमिक सम्मेलन आयोजना गर्ने लक्ष्य लिएर कार्य गरिरहेको आयोजकले जनाएको छ ।