• गृहपृष्ठ
  • दक्षिण कोरिया भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता

दक्षिण कोरिया भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता

Sep 5th, 2019

काठमाडौं, १९ भदौ 
दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रिय सभा अध्यक्ष मुन हिसाङबीच भेटवार्ता भएको छ । कोरियाका राष्ट्रिय सभा अध्यक्षको कार्यालयमा बुधबार भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताउनुभयो । दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउँदै उहाँले कोरियाले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गर्नुभयो । 

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले हजारौं नेपाली रोजगारीको सिलसिलामा कोरियामा रहेको र उनीहरुले आम्दानीसँगै प्रविधि सिकेर नेपालमा प्रयोग गर्ने अपेक्षा गर्नुभयो । उहाँले नेपाल र कोरियाको संसदबीचको अभ्यास र अनुभव आदनप्रदानका लागि समय समयमा संसदीय भ्रमण आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी कोरियाका राष्ट्रियसभा अध्यक्ष मुनले नेपाल उर्जावान देश भएको बताउनुभयो । कोरियाका राष्ट्रपति मुन जायी इन (Moon Jae-In) ले सन् २०१५ को भूकम्प पश्चात गरी तीन पटक नेपाल भ्रमण गरेको स्मरण गर्दै उहाँले नेपाल धेरै मन पराउने जानकारी गराउनुभयो ।

 उहाँले कोरियाले लोकतन्त्र स्थापनको छोटो समयमा विकास र प्रविधिमा अगाडि बढेको बताउँदै भन्नुभयो, ‘विकासप्रति प्रतिबद्ध भइयो भने अगाडि बढ्न सकिन्छ। कोरियाको प्रविधि र नेपालका मिहिनेति जनताबाट समृद्धी तथा प्रगति हुन सक्छ ।’ अध्यक्ष मुनले कोरियामा नेपाली कामदार धेरै भएकाले कोरिया नेपालीको दोस्रो घर भएको बताउँदै नेपाललाई सहयोग गर्न कोरिया तत्पर रहेको धारणा राख्नुभयो ।

तिमिल्सिना र उपविदेशमन्त्रीबीच भेट
यसैबीच बुधबार नै अध्यक्ष तिमिल्सिना र कोरियाका उपविदेशमन्त्री हिसाङ बीच भेटघाट भएको छ । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा कोरियाको निरन्तर सहयोगका लागि आभार प्रकट गर्नुभयो । उहाँले ईपीएस प्रणालीमार्फत कोरियामा रोजगारीका लागि आएको र त्यसबाट दुई देशको अर्थव्यवस्थामा  सकारात्मक भूमिका खेलेको बताउनुभयो । 

सो क्रममा उपविदेशमन्त्री साङले कोरियाको पहिलो प्रथामिकतामा नेपाली कामदारलाई राखेको जानकारी दिँदै दुई देशको सरकारी र जनस्तरको सम्बन्ध सुमधुर रहेको धारणा राख्नुभयो । उहाँले नेपालको विकासमा कोरियाको संधै सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । ’नेपालले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ,’ उहाँले भन्नुभयो, ’यो अभियानमा कोरियाको सहभागिता र सकारात्मक सहयोग रहन्छ ।’ उहाँले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा कोरियाको सहयोग रहेको बताउँदै बाँकी काम छिटो सक्न अध्यक्ष तिमिल्सिनामार्फत नेपाल सरकारलाई आग्रह गर्नुभयो ।