कहिले खुल्ला त मलेसियाको रोजगारी ?

Sep 2nd, 2019

काठमाडौं १६ भदौ 
वैदेशिक रोजगारीको सिलसिलामा नेपालीहरु मलेसिया जान बन्द भएको अहिले १५ महिना बित्यो । अहिलेसम्म खुल्ने कुनै छाटकाछ छैन । आखिर कहिले खुल्ला त ? नेपालस्थित मलेसियाली दूतावासले आफ्ना पुराना ३७ वटा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई मात्र मान्यता दिनुपर्ने अडान कायम राखेको छ । हालैमात्रै दुतावासले एक पत्र पठाउँदै सरकारलाई कामदार पठाउन ढिलाई नगर्न औपचारिक पत्र पठाएको छ । 

मलेसिया रोजगारी खुलाउन भदौ २५ र २६ गते मलेसियामा दुबै देशका अधिकारीको संयुक्त बैठक बस्दै छ । तर मलेसियाले आफ्नो पुरानै संयन्त्रबाट मात्र स्वास्थ्य परीक्षणको काम गर्नुपर्ने अडान  राखेकाले बैठक सफल होला भन्ने कमै मात्रा आशा गर्न सकिन्छ ।

नेपाल सरकार र मलेसिया सरकारको भिन्न भिन्न अडानका कारण मलेसियाको रोजगारी नेपालीका लागि बन्द जस्तै भएको हो । मलेसियाली पक्षले नेपाली स्वास्थ्य संस्थाले परीक्षण गरेका कामदारलाई पनि सहज रुपमा मलेसिया जान दिने बताएपछि सरकारले पुराना ३६ सहित १ सय २२ वटा स्वास्थ्य संस्थाको सूचीकरण गरेको थियो ।

स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाका नाममा कामदारबाट बढी पैसा असुलेको आरोपमा मलेसियाका एजेन्टमाथि सरकारले कारवाही चलाएको थियो । कतिपय स्वास्थ्य संस्थाको परीक्षणले स्वस्थ देखाएका कामदार मलेसिया पुगेपछि अस्वस्थ्य देखिएर फर्कनुपरेको थियो ।

विभिन्न एजेन्ट र स्वास्थ्य संस्थाहरुको सिन्डिकेटका कारण नेपाली युवा ठगिएको भन्दै श्रममन्त्री गोकर्ण विष्टले रोजगारीमा पठाउने प्रक्रिया नै स्थगन गरेका थिए । गत कात्तिकमा दुई देशबिचश्रम समझदारी नै भए पनि कामदार पठाउने प्रक्रिया खुलेको छैन । मलेसियाको पछिल्लो पत्राचारले घुमिफिरी यो विषय पुरानै अवस्थामा पुगेको छ, जसलाई नेपालको कच्चा कूटनीतिको असरका रुपमा विज्ञले अथ्र्याएका छन् ।

बेरोजगार नेपालीको प्रमुख श्रम गन्तव्य नै बन्द हुँदा सरकारले जति दबाब खेपेको छ, उत्तिकै मलेसियाका रोजगारदाताले पनि त्यहाँको सरकारलाई दबाब दिइरहेका छन् ।