• गृहपृष्ठ
  • बैदेशिक रोजगारी : राज्यलाई फाइदा महिलालाई पिडादायी

बैदेशिक रोजगारी : राज्यलाई फाइदा महिलालाई पिडादायी

Aug 18th, 2019

काठमाडौ , १ भदौ 
बैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमती प्रति यो समाजले नकारात्मक टिका टिप्पणी गर्छ, अनेक लान्छना लगाउँछ । जसको कारण महिलाले समाजिक तथा मनो वैज्ञानिक रुपमा विभिन्न प्रकारका हिंसा खेप्नुपरेको छ  ।

 राष्ट्रिय अर्थतन्त्रको लागि बैदेशिक रोजगारले फाइदा पुगेको भएपनि महिला अधिकार र संम्मानको क्षेत्रमा यसले नकारात्मक असर पारेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ सम्म कुल रु सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ । तर, बैदेशिक रोजगारीमा जाने पुरुषका श्रीमतीले भोगेका पीडा अनगिन्ती छन् । 

राष्ट्रिय मानव अधिकार आयोगले गरेको ‘वैदेशिक रोजगारीमा गएका पुरुषको श्रीमतीले भोग्नु परेको सामाजिक मूल्यएवं मनोरञ्जन, सत्कार सेवामा कार्यरत महिला तथा बालबालिकको अवस्था तथा मावन बेचबिखनको जोखिमता ’विषयको अध्ययनमा वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीले चर्को सामाजिक मूल्य चुकाउनु परेको उल्लेख गरिएको छ । 

समाजमा हिँड्डुल गर्दा जिस्काउन, होच्याउने, सामाजिक रुपमा गालीगलौज गर्ने तथा विविध विषयमा लान्छना लगाएर हिंसा गर्ने गरेको अध्ययनका क्रममा पाइएको थियो ।बढ्दो सामाजिक हिंसाका कारण मनमा नकारात्मक असर पर्ने, एक्लै घर बाहिर निस्कन असहज महसुस गर्ने गरेका अध्ययन प्रतिवेदनमा जनाइएको छ । 

त्यस्तै बजार जाँदा, छिमेक तथा घरबाट नै विभिन्न लान्छाना लगाउन, राम्रो लुगा लगाउँदा पनि घर परिवारका सदस्यले परदेशमा रहेको श्रीमानलाई फोन गरी विविध नकारात्मक टिप्पणी सुनाइदिने गरेको अध्ययनका क्रममा सहभागी युवतीले सुनाएका थिए । 

रोजगारीका सिलसिलामा विदेशिएका व्यक्तिका श्रीमतीले विविध प्रकारको हिंसा खेप्न बाध्य भएका छन् । उनीहरुले सामाजिक, आर्थिक, यौनिक र घरेलु हिंसा सहन बाध्य भएको प्रतिवेदनमा औँल्याइएको छ । 

प्रायः गरी काठमाडौँ तथा अन्य छिमेकी जिल्लाबाट र घर छिमेकका युवाले यस्ता विषयमा लागि पर्ने गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

विवाह भएपछि श्रीमान वैदेशिक रोजगारीमा जानेको श्रीमती बढी सामाजिक हिंसाको शिकार हुने गरेको पाइएको छ । विवाह भएको छोटो समयमा वैदेशिक रोजगारीमा जाने युवाको श्रीमतीतथा सानो उमेरमा विवाह गरी छाडेर वैदेशिक रोजगारीमा जाने युवाका श्रीमतीलाई यस्तो हिंसा धेरै हुने गरेको छ । 

अध्ययनमा सहभागी महिला पनि लगभग २० प्रतिशत २० वर्ष भन्दा कम उमेरमा विवाह गरेका तथा विवाह गरेर मात्र विदेश गएका युवाका श्रीमती सहभागी थिए । वैदेशिक रोजगारीमा गएका युवाका श्रीमतीले चर्को सामाजिक मूल्य खेप्न परेपछि मानव बेचविखनको घटनामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । 

हिंसाबाट छुटकारा पाउनका लागि कसैसँग सरसल्लाह नगरी छरछिमेकमा वैदेशिक रोजगारीमा गएका महिलालाई हेरी तुरुन्त राहदानी बनाउन जानुले पनि बेचबिखनको जोखिम बढाएको प्रतिवेदनले औँल्याएको छ ।

आयोगले वैदेशिक रोजगारीमा रहेका युवाका श्रीमतीले भोग्नु परेको सामाजिक मूल्य र मानव बेचबिखनको बारेमा राष्ट्रव्यापी अध्ययन अनुसन्धान गरी यथाशीघ्र आवश्यक कदम चाल्न सुझाव दिएको छ । 

नजानिँदो तरिका बाट वैदेशिक रोजगारीका कारण सामाजिक मूल्य भोगिरहेका महिलाले सामाजिक तथा पारिवारिक बहिस्कार सम्मको स्थिति रहेकाले आफ्नो घर ठाउँमा पनि दासत्व स्वीकार्न बाध्य भएको परिस्थितिलाई अन्त्यगर्न आवश्यक कदम चाल्न पनिआयोगले सिफारिश गरेको छ । 

आयोगले अध्ययनका लागि बढी मात्रामा युवा वैदेशिक रोजागरीमा गएका सिन्धुपाल्चोक र धनुषा जिल्लाको छनोट गरेको थियो । अध्ययनमा सबैभन्दा बढी २५ देखि २९ वर्ष सम्मका २१ प्रतिशत, ३० देखि ३४ वर्ष र ४० देखि ४४ वर्षको १७र१७प्रतिशत, २० देखि २४ वर्षका १३ प्रतिशत, ३५ देखि ३९ वर्षका ११ प्रतिशत, ४५ देखि ४९ वर्षकानौ प्रतिशत, १५ देखि १९ वर्षका सात र ५० वर्ष माथिका पाँचप्रतिशत महिलाको सहभागिता थियो ।