किसानलाई आधुनिक मौरी घार

Jul 6th, 2019

लमजुङ, २१ असार 
बेँसीशहर नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरभित्रका किसानलाई मौरीका घार वितरण गरेको छ । नगर प्रमुख गुमानसिंह अर्यालले किसानलाई गोलासहित र खाली घार वितरण गुर्नभयो । 

उहाँले घार वितरण गर्दै  किसानको आयआर्जनमा टेवा पुग्ने बताउनुभयो । व्यावसायिक मौरीपालक किसान बनाउनका लागि समेत मद्दत पुग्ने अपेक्षाले मौरीको घार वितरण गरेर आगामी दिनमा तालीमदेखि धेरै कुरामा सहयोग गर्ने नगरप्रमुख अर्यालले बताउनुभयो । 
    
मौरीको घार पाएपछि नगरभित्रका किसान खुशी भएका छन् । वडा-२ भकुण्डेका किसान बुद्धिविक्रम शाहीले भन्नुभयो, “चार वटा माग गरेपछि दुई वटा पाए, यति भए पनि खुशी छु यसले व्यावसायिक रुपमा अगाडि बढ्न मद्दत पुग्छ ।” नगरभित्रका किसानलाई गोलासहितका मौरी घार ८०, गोला र खाली दुवै गरी ३३ तथा खाली मौरीका घार ११ वटा वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । 
    
नगरपालिकाका अनुसार वितरण गरिएका मौरी शेरना जातका छन् । वितरण गर्न बाँकी मौरीका घार केही दिनभित्रै वितरण गरिने भएको छ । प्रति गोलासहितको मौरीको घारलाई आठ हजार पाँच सय रुपैयाँ र खाली मौरी घारलाई तीन हजार ४ सय रुपैयाँ मूल्य रहेको कृषि शाखाले जनाएको छ । शाखाका प्रमुख नवराज बरालका अनुसार नगरभित्रका किसानबाट गोलासहितका मौरीका घार पाँच सय ३९ र खाली मौरीका घार ४ सय ८१ को माग आएको थियो । रासस