• गृहपृष्ठ
  • कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

Jun 28th, 2019

काठमाडौँ, १३ असार 
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३ सय ७६ सहभागी भएकामा १२ हजार नौ जनामात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रतर्फ नौ हजार १ सय ४३ र कृषि क्षेत्रतर्फ दुई हजार ८ सय ७६ युवा उत्तीर्ण भएका छन् । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४ सय ८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८ सय ८९ जनाले परीक्षा दिएका थिए । भाषा परीक्षा गत जेठ २५ र २६ गते सञ्चालन गरिएको थियो । 

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइनेछ । 

कोरिया सरकारले इपिएस अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारका बीचमा स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन् ।  हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ । इपिएस अन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एकपटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् । रासस